मुम्बई – बलिउड अभिनेत्री मलाईका अरोडा सवारी दुर्घटनामा परेर घाइते भएकी छिन् । भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार यी अभिनेत्री खोपोली एक्सप्रेस वेमा भएको सवारी दुर्घटनामा घाइते भएकी हुन् । दुर्घटनास्थलमा तीन वटा गाडीहरु एक–आपसमा जुधेको बताइन्छ । ती मध्ये एउटा गाडीमा अभिनेत्री अरोडा भएको बताइन्छ ।
समाचारमा जनाए अनुसार मलाइका अरोडालाई टाउकोमा चोट लागेको छ । खोपोली पुलिस स्टेशनका अनुसार अभिनेत्री अरोडालाई अपोलो अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ । प्रहरीका अनुसार यो प्रकरणको अनुसन्धान गरेपछि एफआईआर दर्ता गरिनेछ ।
मलाइका अरोडाका नजिकका साथीले इन्डिया टुडेलाई बताए अनुसार उनको टाउकोमा टाँका लगाइएको छ । यद्यपि, दुर्घटनापछि अभिनेत्री अरोडा आत्तिएको बताइन्छ । अहिले भने उनी स्वास्थ्य लाभ गरिरहेकी छन् । उनको टाउकोमा सामान्य चोट लागेको छ ।
उनी सवार रेञ्ज रोबर गाडी दुर्घटनामा परेको हो । दुई वटा गाडीको बीचमा उनको गाडी फसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । उनी कुनै फेशन इभेन्टमा सहभागिता जनाउनका लागि यात्रा गरिरहेकी थिइन् । अपोलो अस्पतालका अनुसार अभिनेत्रीको टाउकोमा चोट लागेको छ ।
अस्पतालमा उनको सिटी स्क्यान गरिएको छ, जसको रिपोर्टमा सबै कुरा सामान्य देखिएको छ । यद्यपि, मलाईकालाई अब्जर्भेसनका लागि रातभरि अस्पतालमा राखिएको छ । आज आईतबार बिहान उनलाई डिस्चार्ज गरिने बताइन्छ ।