सप्तरी – कोरोना कहरका कारण नेपाल–भारत सीमा नाका बन्द भएको लामो समय भइसक्यो। आवतजावत बन्द गर्दै दुई देशीय सीमा सिल गरिएको छ।
तर पनि अवैध रुपमा हुने आयात, निर्यात रोकिएको छैन। तस्करीमा संलग्न गिरोहले सुरक्षाकर्मीलाई छल्दै नेपालबाट भारत र भारतबाट नेपालतर्फ सामानको तस्करी गरिरहेका छन्। पछिल्लो एउटा घटनाले विराटनगरमा गोदाम नै भाडामा लिएर तस्करी धन्दा चलाउने गरिएको पुष्टि गर्छ। विराटनगर महानगरपालिका–११ का २६ वर्षीय जितेन्द्र भगतले गोदाम भाडामा लिएर चिनी, खैनी, चकलेट, मच्छड धुप लगायतका सामानको तस्करी गरिरहेको खुलेको हो। भगत विराटनगरमा किराना पसल सञ्चालन गरेर बसेका व्यापारी हुन्। पसल सञ्चालन गरेर बसेका उनले भारतबाट अवैध रुपमा सामान भित्राउँदै गोदाममा ‘स्टक’गरेर बिक्री गर्ने गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। भन्सार छली गरेर सामान ल्याउँदै भाडाको गोदाममा भण्डारण गरेर किराना पसलमार्फत बिक्री गर्ने र अन्यत्रसम्म पुर्याउने गरेको पाइएपछि भगतलाई पक्राउ गरिएको उनको भनाइ छ। राईका अनुसार भाडाको गोदाममा प्रहरीले छापा हान्दा तस्करी गरेर अवैध रुपमा भारतबाट नेपाल ल्याएपछि भण्डारण गरिएको अवस्थामा सामानहरु पनि फेला परेका छन्।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार आफ्नै घरमा किराना पसल चलाइरहेका भगतले विराटनगर–६ का सञ्जित साहको घरको कोठा भाडामा लिएर तस्करीका सामान भण्डारण गर्ने गरेको पाइएको छ। विराटनगर वडा नम्बर ११ र ६ को सीमानामा सडक पर्छ। भगतले सञ्चालन गरेको पसल र तस्करीको सामान भण्डारण गर्न भाडामा लिएको घर सडक वारिपारि छ।विशेष सूचनाका आधारमा भगतले भाडामा लिएको गोदाममा प्रहरीले शनिबार छापा मारेको हो। त्यस क्रममा तस्करीको ४० बोरा (प्रति बोरा ५० किलो) चिनी, बलवाल खैनी ३० पोका, म्याङ्गो चकलेट, मिल्क चकलेट र मच्छड धुप बरामद गरिएको एसपी खड्काले बताए। ‘कोरोनाका कारण दुई देशबीच अवातजावत बन्द गरिएको भए पनि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई छल्दै चोर बाटोको प्रयोग गरेर भारतबाट किराना सामानको तस्करी गर्ने गरेको पाइयो’, उनले भने, ‘ती सामान भण्डारण गरेर राख्न गोदाम नै भाडामा लिएको नयाँ घटना खुलेको छ।’खड्काका अनुसार तस्करी गरेर भित्र्याइएका सबै खाले सामान ‘स्टक’ गर्न एक साताको प्रति बोरा ५० रुपैयाँ तिर्ने गरी कोठा भाडामा लिएको पाइएको छ। ‘भगतले तस्करीका सामान आफ्नै पसलबाट पनि बिक्री गर्ने गरेको पाइयो’, उनले भने, ‘अधिकांश सामान माग भएका ठाउँ अर्थात गन्तव्यसम्म पुर्याउने धन्दामा पनि उनी संलग्न रहेको खुलेको छ।’
गोदाममा भण्डारण गरिएका सामानको खरिद बिल देखाउन नसकेपछि सामान नियन्त्रणमा लिएर भगतलाई पनि पक्राउ गर्दै आवश्यक कारबाहीका लागि आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको एसपी खड्काको भनाइ छ। उनले गोदाम सञ्चालनको अनुमति पनि नलिएको प्रहरीले जनाएको छ। ‘गोदाममा राखिएका कुनै पनि सामानको बिल छैन’, खड्काले भने, ‘बिल देखाउन नसकेपछि तस्करीको सामान हो भन्ने प्रष्ट भएकाले कारबाहीका लागि नियन्त्रणमा लिइएको हो।यसरी अवैध रुपमा सामान ल्याउने र लैजाने गर्दै कर छली गरिरहेको घटना बाहिरिएपछि नियन्त्रणमा लिनलाई नेपाल–भारत सीमा क्षेत्रलाई प्रहरीको उच्च निगरानीमा राखिएको जानकारी खड्काले दिए। तस्करी नियन्त्रण गर्न प्रहरीको विशेष टोली बनाएर २४ घण्टानै सीमामा खटाइएको उनले बताए। त्यस्तै प्रहरीले शनिबार साँझ विराटनगर–१६ दरैयाबाट भारतको जोगवनीदेखि ल्याइएको तस्करीका कपडा र अन्य सामान बरामद गरेको छ। अवैध रुपमा सामान फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। तर प्रहरीलाई देखेपछि तस्करीमा संलग्नहरु फरार भएको डीएसपी राईले बताए। उनले भने, ‘सामान बेवारिसे अवस्थामा प्रहरीले भेटेको हो। तस्करीमा संलग्नहरु प्रहरी आएको चाल पाएर भागेको खुलेको छ।’राईका अनुसार महिला, पुरुष तथा बालबालिकाले लगाउने स्वीटर, ज्याकेट, कुर्ता सरुवाल, पाइन्ट, ग्यास चुल्हो, रेगुलेटर, मिक्सचर, कुकर लगायतका सामान बरामद भएको छ। त्यस्तै प्रहरीले ६० किलो केराउ र आठ किलो सुपारी पनि नियन्त्रणमा लिएको छ। सुपारी र केराउ नेपालबाट भारत र अन्य सामान भारतबाट नेपालतर्फ तस्करी हुने गरेको राईले बताए। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी उनले दिए।
गोदाम भाडामा लिएर सामानको तस्करी गर्ने गरेको आरोपमा पक्राउ परेका विराटनगर–११ का जितेन्द्र भगत।