काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सले) साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ।
निगमले एक विज्ञप्तिमार्फत काठमाडौं–रियाद–काठमाडौं उडान तालिकासमेत सार्वजनिक गरेको हो।
निगमले रियाद गन्तव्यका लागि अप्रिल र मे महिनाका लागि उडान तालिका सार्वजनिक गरेको हो। निगमले निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग जोडिने प्रतिबद्धतासमेत जाहेर गरेको छ।
‘निगमले साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’ को रुपमा स्थापित सहर रियादमा आफ्नो नियमित तथा व्यावसायिक उडान आरम्भ गर्ने भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘निगमको उडान इतिहासमा यसरी रियादलाई आफ्नो हवाई गन्तव्यको रुपमा समेट्न पाउँदा हामी हर्षित र गौरवान्वित भएका छौं। निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग हामी जोडिने छौं। हाम्रो यात्रा जारी छ।’