सप्तरी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले खराब प्रदर्शनलाई निरन्तरता दिँदा शनिबार राति नवप्रवेशी क्याडिजसँग २–१ को नजिता निकालेको छ ।
बार्सिलोनालाई स्तब्ध बनाउन क्याडिजका अल्भारो जिमिनेज र अल्भारो नेग्रेडोले गोल गरे । बार्सिलोनाले १ गोल उपहार पाएको थियो । बल पोजेसनमा बलियो पकड बनाए पनि बार्सिलोनाले क्याडिजको मजबुत रक्षापंक्ति र गोललाइन तोड्न नसक्दा ला लिगामा चौथो हार बेहोर्न बाध्य बन्यो । बार्सिलोना यसअघि गेटाफे, रियल मड्रिड र एटलेटिको मड्रिडसँग पराजित भएको थियो । यो नतिजासँगै बार्सिलोनाले ला लिगामा १० राउन्डको खेल खेल्दा शीर्ष स्थानको एटलेटिको मड्रिडसँग १२ अंकले पछि परिसकेको छ । १० खेलबाट एटलेटिकोको २६ अंक पुगेको छ ।क्याडिज १२ खेलबाट १८ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । घरेलु मैदानमा क्याडिजले खेलको नवौं मिनेटमा अल्भारो जिमिनेजको गोलबाट अग्रता लिएको थियो । कप्तान जोन्सनको कर्नरमा पेरेयाको हेडरलाई बार्सिलोनका डिफेन्डर मिग्वेजाको लो हेडरलाई आत्मघाती गोलतर्फ अघि बढ्दा गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउने प्रयास गरे पनि जिमिनेजले जाली चुमाएका थिए । १४औं मिनेटमा कप्तान लियोनल मेस्सीको पासमा सर्जिनो डेस्टको लो क्रस बललाई एन्टोइन ग्रिजमनले भेट्याउन नसक्दा बार्सिलोना बराबरीबाट चुक्यो । १७औं मिनेटमा मेससी र मार्टिन ब्रेथवेटका समन्वयमा बनेको मुभमा गोलरक्षक लिडेस्मा बाधक बने । ५०औं मिनेटमा पेड्री र ब्रेथवेटको समन्वयमा मेस्सीको प्रहारलाई गोलरक्षक लिडेस्मा नै बाधक बन्दा क्याडिजले अग्रता जोगाइराख्न सफल भयो । ५७औं मिनेटमा पेड्रो एलकालाले आत्मघाती गोल गरेपछि बार्सिलोना खेलमा फर्किएको थियो ।
६३औं मिनेटमा क्लेमेन्ट लेङलेट र गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तीमा अल्भारो नेग्रेडोले गोल गर्दै क्याडिजले पुनः २–१ को अग्रता लिन सफल भयो । ६६औं मिनेटमा कप्तान मेस्सीको करिब २५ यार्ड टाढाको प्रहार क्रसबारबाट थोरै बाहिरिँदा बार्सिलोना बराबरीबाट चुक्यो । ७३औं मिनेटमा सर्जियो बुस्क्वेट्सको पासमा सर्जिनो डेस्ट गोल गर्नबाट चुके । ८४औं मिनेटमा औसमाने डेम्वेलेको क्रसलाई फाली क्लियर गर्न नसक्दा ग्रिजमनले गरेको प्रहारलाई लेडेस्माले बचाए । ८६औं मिनेटमा मेस्सीकै प्रहारलाई ब्लक गर्दै बार्सिलोनालाई निराश पारे ।यस्तै एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रालाई निरन्तरता दिँदा शनिबार राति रियल भालाडोलिडमाथि २–० को सहज जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोको जितमा थोमस लेमा र मार्काेस लोरेन्टेले गोल गरे । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड अपराजित एक्लो टोली हो । एट्लेटिकोले १० खेलमा ८ जित र २ बराबरीको नतिजा निकालेको छ । पराजित भालाडोलिड १० अंक जोडेर १९औं स्थानमा छ ।
दोस्रो स्थानमा रहेको रियल सोसिडाडको ११ खेलबाट २४ तथा तेस्रो स्थानमा रहेको रियल मड्रिडको २० अंक छ । यस्तै शनिबार राति नै रियल मड्रिडले सेभियामाथि १–० को जित निकालेको छ ।