काठमाडौं– सप्तरीको खडक नगरपालिकाका गाउँलेको कुटपिटबाट बुधबार एक युवकको मृत्यु भएको छ। कुटपिटबाट खडक–४ पंसेराका रामअशिष पासवानको छोरा २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
कुटपिटका आरोपितमध्ये स्थानीय दिलीप चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ।
घटनाको गम्भीररूपमा अनुसन्धान भइरहेको र फरार अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए।
सोमबार राति विवाहमा डिजे बाजा बजाएर नाचेको र जन्तीलाई रोकेका विषयमा दुई पक्षबीच झगडा भएको स्थानीयवासीले बताएका छन्। गाउँलेले झगडा छुटाएपछि पुनः अबेला राति हुल बाँधेर आएका आरोपितले सन्तलाललाई नियन्त्रणमा लिएर कुटपिट गरेको परिवारका सदस्यले बताएका छन्।
कुटपिटबाट पासवानको शरीरको विभिन्न भागमा चोटपटक लागी गम्भीर घाइते भई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए।
आरोपितलाई कारबाही गर्न माग गर्दै गाउँलेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमाहा चोकमा बुधबार आधा घण्टा चक्काजामसमेत गरेका थिए।