विराटनगर : प्रहरी हिरासतमा रहेका थुनुवालाई प्रतिबन्धित औषधि पुर्याउने तीन जनालाई प्रहरीले मोरङको उर्लाबारीबाट पक्राउ गरेको छ।
मोरङ प्रहरी प्रमुख एससपी शान्तिराज कोइरालाका अनुसार पथरीशनिश्चरे नगरपालिका–४ का २० वर्षीय सन्दीप लिम्बू, २१ वर्षीय सागर राई र पथरीशनिश्चरे–२ का १९ वर्षीय दीपक लिम्बूलाई पक्राउ गरिएको हो। प्रतिबन्धित औषधि लगेर अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेका थुनुवा पथरीशनिश्चरे–२ का २२ वर्षीय रूपन राईलाई दिन खोजेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको एसपी कोइरालाले बताए।
इलाका प्रहरी कार्यालय उर्लाबारीले राईलाई गत वैशाख ६ गते पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको थियो। उनलाई भेट्न र कपडा पुर्याउन भनेर आएका युवाले प्रतिबन्धित औषधि ल्याएर दिन खोजेको पाइएपछि प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले बिहीबार दिउँसो तीनै जनालाई पक्राउ गरेको हो।
रूपनका लागि भनेर उनीहरुले ल्याएको कपडा चेकजाँच गर्दा औषधि फेला परेको प्रहरीले जनाएको छ। कपडाभित्र प्रतिबन्धित औषधि स्पासपेन ३ चक्की र डिस्पोक्यानन् अल्कोहल स्वार्ड ३ प्याकेट फेला परेको एसपी कोइरालाले बताए। पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामै अनुसन्धान अघि बढाउने भएको छ।
नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएको औषधिलाई मिलाएर दुर्व्यसनीले लागुऔषधका रूपमा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हिरासतमा रहेका रूपन र उनलाई प्रतिबन्धित औषधि पुर्याउन गएका युवाहरु लागुऔषधको दुव्र्यसनी रहेको पत्ता लागेको छ।