झापाको हल्दिबारी गाउँपालिकामा रहेको शान्ति सामुदायिक वनका पूर्वसचिव गुप्तबहादुर फागो तीन थान भरुवा बन्दुकसहित पक्राउ परेका छन् । हल्दिबारी – ५ का फागोलाई डिभिजन वन कार्यालय झापाको विशेष गस्ती टोलीले शुक्रबार पक्राउ गरेको हो।
फागोको समूहबाट गस्ती टोलीले तीन थान भरुवा बन्दुक बरामर गरेको जलथल सबडिभिजन कार्यालयका रेञ्जर दिपकसेन भण्डारीले बताए । फागो हतियार सहित पक्राउ परेका हुन् । अन्य तीनजना फरार भएका छन् । विगत लामो समयदेखि जलथल जङ्गलमा बन्यजन्तु चोरी निकासी तथा काठ तस्करीमा समेत फागो सहितको १४/ १५ जनाको समूहकाे संलग्न रहेको स्थानीयको दाबी छ।
चार जनाको समूह शान्ति वन समूहको जलथल जङ्गल भित्र बन्यजन्तु चोरी सिकारी गर्न पुगेको सूचना पाएपछि आफ्नो टोली त्यहाँ पुगेको वन डिभिजन कार्यालयले जनाएको छ। फागोलाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाएका छन् । पक्राउ परेका फागोबाट बन्यजन्तु सिकारी र काठ तस्करहरुका नाम सार्वजनिक हुने डरले उनलाई छुटाउन राजनीतिक दलले दबाब दिइरहेका छन् ।
जलथल जङ्गलमा फरेस्ट एक्सन नेपालले राखेका क्यामेरा समेत तस्करका नाइकेहरुको समूहले चोरी गरेको खुलेको छ । क्यामेरा चोरी भएपछि फरेस्ट एक्सन नेपालले वन भित्र साना नाइट भिजन क्यामेरा जडान गरेर निगरानी गर्दै आएको छ ।