२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १८, २०७९

विराटनगर – सशस्त्र प्रहरीले सुनसरीको बाटो हुँदै भारततर्फ लैजान खोजिएको ठूलो परिणामको लागूऔषध गाँजा बरामद गरेको छ । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ बाट सशस्त्रले १४८ किलो गाँजा नियन्त्रणमा लिएपछि छुटाउनलाई ‘सेटिङ’को प्रयाससमेत गरिएको छ । सशस्त्रलाई पैसा बुझाएर बरामद गरिएको गाँजा, ट्रक र पक्राउ परेका चालकलाई छुटाउने प्रयास गरिएको हो ।

मिनी ट्रकमा राखेर भारत कटाउन खोजिएको गाँजा शनिबार राति ९ बजेतिर बरामद गरिएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले बताए । प्रदेश १–०२–००२ ख ८६१४ नम्बरको ट्रकमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन डीआईजी गिरीले विशेष टोली परिचालन गरेका थिए ।

उक्त टोलीले १४८ किलो गाँजा र ट्रकसहित चालक धनकुटाको सहिदभूमि गाउँपालिका–४ का ३६ वर्षीय हेमप्रसाद राईलाई पनि नियन्त्रणमा लिएको थियो । गाँजा नियन्त्रणमा लिएपछि सशस्त्रलाई आर्थिक प्रलोभन देखाउँदै ‘सेटिङ’ मिलाउन खोज्ने २ जनासमेत पक्राउ परेका छन् । सशस्त्रलाई पैसा बुझाएर ट्रक, गाँजा र चालकलाई छुटाउन प्रयास गर्ने सहिदभूमि–२ का ३६ वर्षीय हिक्मत राई र ३५ वर्षीय आशिष राई पक्राउ परेका हुन् ।

सशस्त्रलाई बुझाउन ५ लाख ५० हजार रूपैयाँ लिएर उनीहरू आएको खुलेको छ । सशस्त्रलाई ‘सेटिङ’ मिलाउन भन्दै को ४० प २२११ नम्बरको पल्सर मोटरसाइकलमा आएका हिक्मत र आशिषलाई उनीहरूले ल्याएको नगदसहित पक्राउ गरिएको डीआईजी गिरीले बताए । उनका अनुसार पक्राउ परेका व्यक्तिसहित नियन्त्रणमा लिइएको नगद, गाँजा र ट्रक आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

तस्करीमा संलग्नहरूले पूर्वी पहाडी जिल्लामा उत्पादन हुने लागूऔषध गाँजा सुरक्षाकर्मीलाई छलेर भारततर्फ लैजाने गरेका छन् । नेपालमा प्रतिकिलो गाँजाको मूल्य २० हजार रूपैयाँभन्दा बढी पर्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ । भारतमा दोब्बर मूल्यमा बिक्री हुने भएपछि तस्करको समूहले अवैध गाँजा लुकाइछिपाइ नेपालबाट भारत पु¥याउने गरेका हुन् । ‘सुरक्षाकर्मी आसन्न स्थानीय तह निर्वाचनतर्फ केन्द्रित छन् । यस्तो अवस्थामा लागूऔषधदेखि अन्य वस्तुको तस्करी गर्नेहरू सक्रिय भएको पाइयो,’ डीआईजी गिरीले भने, ‘अवैधधन्दा एवं अवाञ्छित गतिविधि नियन्त्रणमा लिन सशस्त्र सक्रिय भएर लागेको छ । सबै ठाउँमा निगरानी बढाएर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।’ लागूऔषधलगायतका अवैध वस्तु ओसारपसार र भन्सार चोरी पैठारी नियन्त्रण गर्न सशस्त्रको विशेष टोली २४ घण्टा नै तैनाथ गरिएको उनले बताए ।

त्यस्तै, आटा(मैदा)को बोराभित्र राखेर भारतको जोगबनीबाट नेपालतिर ल्याउँदै गरिएको लागूऔषध प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रणमा लिएको छ । साइकलमा ल्याउँदै गरेको लागूऔषध सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) दरैयाबाट खटिएको टोलीले शुक्रबार दिउँसो बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेका अनुसार सशस्त्रले रोक्नासाथ लागूऔषध ओसारपसारमा संलग्न रहेका व्यक्ति साइकल र बोरा छाडेर भारततिर नै भागेका छन् । बोरा खानतलासी गर्दा लागूऔषध भेटिएको हो । फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको उनले बताए । एसपी लामिछानेका अनुसार आटासहितको बोराभित्रबाट लागूऔषध नाइट्राभेट ६ सय ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ५२८ ट्याब्लेट र डाइलेक्स डीसी ५९ बोतल बरामद गरिएको छ । बरामद गरिएको लागूऔषध र नियन्त्रणमा लिएको साइकल आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]