बीरगञ्ज – नक्कली नोट कारोबारमा संलग्न २ जनालाई पर्साको जगर्नाथपुरबाट प्रहरीले पक्राउ गरेको छ । जगर्नाथपुर गाउँपालिकाको वडा नम्बर ६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नोट साटिरहेको भन्ने सूचना पाएर पुगेको इलाका प्रहरी कार्यालय पोखरीयाको टोलीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाकै बहुदरमाई नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली घर भई हाल बहुदरमाई नगरपालिका ८ मा बसिरहेका २० वर्षीय अजय सहनी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेकाको साथबाट नक्कली नोट बीस हजार ‘१ हजार दरका २० थान’ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । पक्राउ परेका दुबै जना बिरुद्ध मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पनि खनालले जानकारी दिए ।