अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख जिल्ला आठविस नगरपालिका ८ मा रहेको गणेश आधारभुत विद्यालयका प्रधानाध्यापकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्यालयका प्रधानाध्यापक अनिल कुमार शाहीसहित विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्तिप्रसाद उपाध्याय र व्यवस्थापन समितिका अध्यक्ष सन्तकबहादुर कामीविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार आरोप पत्र दायर भएको हो ।
निजहरुले आर्थिक बर्ष २०७६÷०७७ मा विद्यालयमा आईसीटीसी ब्यवस्थापनका लागि सोलार जडान गर्ने भन्दै सोलार खरिदका लागि कोटेसन आव्हान र छनोट गरेको तर सामग्री गरिद नगरी भुक्तानी लिएको अख्तियारको अनुसन्धानले देखाएको छ ।
उनीहरुले ती सामग्री खरिद गरेको भन्दै आठविस नगरपालिका कार्यालय, दैलेखमा चार लाख ९८ हजार रुपियाँ रकम भुक्तानी गर्ने उद्देश्यले झुठा कागज र विल भरपाई गरेका थिए ।
अख्तियारले सरकारी रकम खाने र मास्ने उद्देश्यकासाथ गैरकानुनी लाभ लिन खोजेको ठहर गर्दै अधिकतम सजायको मागदावी लिइ मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।