राजविराज – सप्तरीको बोदे बर्साइन नगरपालिका–१ धनगढीका २१ वर्षीय परमेश्वर साह भाउजुको हत्या आरोपमा पक्राउ परेका छन्। भाउजुलाई पेट्रोल छर्केर हत्या गरेको आरोपमा साहलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। हत्या घटनापछि भारतमा लुकेर बसेका आरोपित केही दिनदेखि घरमै फर्केर आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।
शरीरमा आगो लागेको अवस्थामा २७ वर्षीया राजकुमारी साह माघ २१ गते फेला परेपछि उनलाई उपचारका लागि विराटनगर लगिएको थियो। उपचारकै क्रममा राजकुमारीको माघ २२ गते मृत्यु भएको थियो। बोतलमा खुल्ला पेट्रोल ल्याएर परमेश्वरले खाना पकाइरहेकी भाउजुको शरिरमा पेट्रोल छर्केर आगो लगाएको आरोप छ। मृतकका बुवा बोदे बर्साइन नगरपालिका–६ का बद्री साहका अनुसार घरमा मोटरसाइकल समेत भएकाले टोलकै पसलेले मोटरसाइकलमा हाल्न होला भनेर एक बोतल पेट्रोल बेचेका रहेछन्। अगेनाको छेउमा बसेर खाना पकाइरहेकी राजकुमारीको शरिरमा परमेश्वरले अचानक पेट्रोल छर्केपछि चुल्होको आगो हुरहुर्ती बल्यो।
परमेश्वरविरुद्ध परेको किटानी उजुरी इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीले माघ २६ गते दर्ता गरेको थियो। फरार रहेका परमेश्वर पछिल्लो समय गाउँघरमा बस्न थालेको सूचना पाएपछि प्रहरीले घरबाटै आरोपितलाई पक्राउ गरेको जनाएको छ। मृतकका श्रीमान् रबीनका अनुसार २ वर्षीया छोरी र ८ वर्षीय छोरा छन्।