म्यानमारको राजधानी याङ्गुनमा मंगलबार बम बिस्फोट भएको छ। बिस्फोटमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अरू नौ जना घाइते भएको प्रहरी श्रोतले जानकारी दिएको छ।
अत्यन्त व्यस्त राजधानी याङ्गुनमा रहेको बसपार्कनजिकै स्थानीय समयअनुसार दिउँसो ३ः२० बजे बिस्फोट भएको प्रहरीले एएफपीलाई जानकारी दिएको छ।
‘दिउँसो करिब ३ बजेर बीस मिनेट जाँदा बसपार्क नजिकै बिस्फोट भएको हो,’ प्रहरी स्रोतले भनेको छ, ‘यसमा परेर एक जनाको मृत्यु भएको छ भने अरू नौ जना घाइते भएका छन्।’
घटनाबारेमा थप अनुसन्धान सुरू भइसकेको प्रहरीले जनाएको छ।
यो बिस्फोट कुन खालको बमबाट भएको हो भनेर पत्ता लाउन बम विज्ञको टोलीले काम गरिरहेको पनि प्रहरीले जनाएको छ। स्थानीय अखबारहरूले बिस्फोटस्थलका तस्बिरहरू सार्वजनिक गरेका छन्। ती तस्बिरहरूमा मान्छेहरू घाइते भएर लडिरहेका देखिएका छन्।
सुरक्षाकर्मीहरूले बिस्फोटस्थल नजिकै नपड्किएको ग्रिनेड पनि फेला पारेका छन्। बिस्फोटको अहिलेसम्म कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन।