रोल्पाको त्रिवेणी गाउँपालिकाका एक जनप्रतिनिधि किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।
त्रिवेणी गाउँपालिका ६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।
केसी ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को वडा सदस्यमा निर्वाचित भएका थिए। केसी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन्।
रोल्पाका प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेका अनुसार गएको जेठ ३० गते रोल्पाकै माडी गाउँपालिका १ घर भएकी कक्षा ९ मा अध्ययनरत १४ वर्षीया किशोरीलाई उनले घरमै गएर जबजस्ती करणी गरेको आरोप छ।
अभिभावकले किशोरीमाथि बलात्कार भएको उजुरी दिएपछि वडा सदस्य केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अदालतबाट सात दिनको म्याद थप गरेर केसीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।