काठमाडौं– काठमाडौं महानगरपालिकामा हैजाका बिरामी पुष्टि भएपछि काठमाडौं महानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय र चिकित्सकको टोलीले हैजाको कारण पत्ता लगाउनका लागि काम सुरु गरेको छ।
गत आइतबार पहिलोपल्ट काठमाडौंको बागबजारका दुई जनामा हैजा पुष्टि भएपछि तत्कालै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौं महानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बसेको थियो।
स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ। टोलीले हैजा फैलिएका क्षेत्रमा गई जनचेतना फैलाउने र हैजाको कारण पत्ता लगाउनका लागि खोजपड्ताल गरिरहेको छ। टोलीले खानेपानीको नमूना संकलन गरेको छ।
अधिकारीले भने, ‘काठमाडौं हैजाको जोखिममा छ, हालसम्म ४ जनामा हैजा पुष्टि भएको रिपोर्ट भएको छ, हाल हैजा पुष्टि भएका क्षेत्रमा खानेपानीको नमुना परीक्षण गर्ने काम भइरहेको छ।’
बिरामीसँग बुझ्दा बिरामीले जार र धारा दुवैको पानी नउमालिकन खाने गरेको पाइएको अधिकारीले बताए। हैजा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकासँगको समन्वयमा खानेपानीको शुद्धिकरण, खानेकुरासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरिरहेको अधिकारीले बताए।