बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकाको त्रिशक्ति मतदान केन्द्रमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ।
गत वैशाख ३० गते नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताले बूथ कब्जा गरेपछि मतदान स्थगन भएको थियो। डेढ महीनापछि निर्वाचन आयोगले पुनः मतदान गराएको हो।
बुढीगंगाका नौ वटा मतदान स्थलमा शान्तिपूर्ण रूपमा मतदान चलिरहेको भए पनि बुढीगंगा–९ स्थित त्रिशक्ति माविको मतदान केन्द्रमा सत्तारूढ गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ। मतदानका क्रममा फर्जी मत हाल्न खोजेपछि झडप भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए।
झडपका क्रममा गठबन्धन र एमालेका कार्यकर्ता घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
मतदान केन्दमा विवाद भएपछि प्रहरीले हवाई फायर गर्नुपरेको प्रजिअ अधिकारीले बताए। “केही बेर विवाद भयो। त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’’ उनले भने, “केहीबेर मतदान स्थगन भयो। अब पुनः मतदान शुरू भएको छ।”
आज बिहान ७ बजेदेखि मतदान शुरू भएको हो। मेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका रङ्ग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन्।
यसअघि गत वैशाख ३० गते मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदान स्थलमा एमाले र कांग्रेस कार्यकर्ताले बूथ कब्जा गरेको आयोगले निष्कर्ष निकालेको थियो।