सिरहा, ७ मंसिर– सिरहामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीनको ज्यान गएको छ ।
हुलाकी राजमार्गअन्तर्गत सिराहा नगरपालिका–१९ सन्हैठा नयाँचोकमा बुधबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
सिरहा प्रहरीका डिएसपी रवीन्द्रराज पाण्डेले स२प ४५३१ र २–०१–००१प१८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको जानकारी दिए ।
पाण्डेका अनुसार दुर्घटनामा मृत्यु हुनेमा अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् । प्रहरीले तीनै जनालाई उद्धार गरी अस्पताल लगेकामा चिकित्सकले सबैलाई तत्काल मृत घोषणा गरेका थिए ।
दुर्घटनामा अर्नामा–५ का १५ वर्षीय किशोर युवराजकुमार यादव गम्भीर घाइते भएका छन् । स्थानीय अस्पतालमा उपचार सम्भाव नभएपछि राति नै उनलाई विराटनगर पठाइएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
डिएसपी पाण्डले दिएको जानकारीअनुसार दुवै मोटरसाइकलका चालकले हेलमोट लगाएका थिएनन् भने गति तीव्र थियो ।