पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित निकालेको छ।
सुदूरपश्चिम प्रदेशले दिएको ५९ रनको झिनो लक्ष्य मधेसले ४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
मधेशका लागि इमरान शेख १७ र पवन सर्राफ १४ रनमा नटआउट रहे। अनिल साह २५ रनमा क्याच आउट भए। ओपनर तथा कप्तान हरिशकंर शाह शून्य रनमा बोल्ड आउट भए।
सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १५.५ ओभरमा ५८ रन बनाउँदा अलआउट भयो।
सुदूर पश्चिमका लागि नरेन साउदले बनाएको १८ रन नै सर्वाधिक रह्यो। भोजराज भट्ट र किरण ठगुन्नाले समान १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
मधेशका लागि हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए। उनले आफ्नो स्पेलमा ११ रन दिए। रुपेश साहले ३ विकेट लिए। उनले २.५ ओभरमा १ मेडन राख्दै ७ रन खर्चे।
विशाल पटेल, प्रदिप पाश्वान र विशाल सुश्लिङले समान एक विकेट आफ्नो नाममा गरे।
समूह ‘सी’ मा पुलिस क्लब र मधेश प्रदेशको समान २ अंक छ। सुदूरपश्चिम अंक विहीन छ। समूह चरणको अन्तिम खेलमा पुलिस क्लब र मधेश प्रदेश भिड्नेछन्।