सप्तरी – दुई टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिका र घरेलु टोलीबीचको दोस्रो टेस्टको पहिलो दिनको खेलमा १७ विकेट पतन भएको छ ।
वेस्ट इन्डिजको गयनामा बिहिवार सुरु दोस्रो टेस्टको पहिलो दिनै १७ विकेटको खसेको हो । टस जितेर ब्याटिङ रोजेको पाहुना टोली पहिलो इनिङमा १ सय ६० रनमा अल आउट भएको थियो ।
दक्षिण अफ्रिकाका लागि डेन पाइटले ६० बलमा अविजित रहँदै सर्वाधिक ३८ रन जोडे । डेविड बेडिन्हामले ५४ बलमा २८, ट्रिस्टन स्टम्सले २६, नान्द्रे बर्गरले २३, काइल वेरीएन्नेले ३३ बलमा २१ तथा ओपनर एडेन मारकमले ३० बलमा १४ रन बनाए ।
वेन्डिजका लागि शेमार जोसेफले १४ ओभरमा ३३ रन खर्चिएर ५ विकेट लिए । जयडेन सेल्सले ३, गुणकेश मोटी र जेसन होल्डरले समान १ विकेट लिए ।
पहिलो दिनको खेल सकिदा घरेलु टोली वेस्ट इन्डिजले ७ विकेट गुमाएर ९७ रन जोडेको छ । घरेलु टोलीका जेसन होल्डर ३३ रनमा अविजित रहँदा केसी कार्टीले ३७ बलमा २६, कप्तान गुणकेश मोटीले ३५ बलमा ११ रन थपे ।
दक्षिण अफ्रिकाका लागि वायन मुल्दारले ४, नान्द्रे बर्गरले २ तथा केशव महाराजले १ विकेट लिए ।
दुईबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दुई टोलीबीच २४ अगस्टबाट ३ खेलको टि ट्वान्टी सिरिज पनि छ ।