काठमाडौं – सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक वीरसिंह शाहको शैक्षिक प्रमाणपत्रमा नक्कली भएको खुलेको छ ।
उनीविरुद्ध शुक्रबारमुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पद बढुवाका लागि सिंहले नक्कली प्रमाणपत्र पेस गरेको उजुरीका आधारमा मुद्दा दायर गरेको हो । शाहले प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिका लागि पेस गरेको बिए तहको शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धमा अनुसन्धान २०५९ फागुन ७ गते डा. राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको बिए तह उत्तीर्ण गरेको भनिएको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको दाबी छ ।
उनले त्यही प्रमाणपत्रको आधारमा सशस्त्र प्रहरी निरीक्षकमा नियुक्ति भई लाभ, सुविधा लिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएकाले शाहलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आरोपी एसपी शाहले यसअघि अवकाश पाइसकेका छन् ।