झापा- झापाको अर्जुनधारामा १६ वर्षकी किशोरीमाथि शुक्रबार राति सामूहिक बलात्कार भएको छ।
अर्जुनधारा–५ की ती किशोरीमाथि चारजना युवाले सामूहिक बलात्कार गरेका पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छन्।
किशोरीको बयानका आधारमा प्रहरीले अर्जुनधारा ७ का सुनिल राजवंशी, केशवकुमार मगर, सरोज राई र अनिस लिम्बुलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरुलाई आज बिहान नै घरबाट पक्राउ गरिएको हो। थप तीन जनाको खोजी भइरहेको बुझिएको छ।इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार घटनाको ‘भेरिफाइ’ गर्ने काम भइरहेको छ।
पीडित परिवारका अनुसार पीडकमध्येका दुईजनाले शुक्रबार अपराह्न किशोरीलाई घुम्न जाने भन्दै घरबाट लगेका थिए। त्यसपछि उनीहरूले अर्जुनधाराकै एक होटलमा पुर्याएका थिए। त्यहाँ उनका अरू दुईजना साथीहरू थिए।उनीहरू चारजनाले नै रातभर किशोरीमाथि बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी छन्।
घटनापछि बिहान पिडकमध्येका सुनील राजवंशीले पीडित किशोरीलाई मोटरसाइकलमा पीडितको घर पुर्याएका थिए। उनले अर्जुनधारा–७ को वडा कार्यालयमा बसिरहेको भेटेपछि पुर्याउन आएको बताएका थिए।तर, किशोरीले उनी पनि घटनामा संलग्न रहेको बयान दिएपछि प्रहरीले राजवंशीलाई पनि पक्राउ गरेको हो। स्रोत : देश सञ्चार