सप्तरी – मनसुनको न्यूनचापीय रेखा आइतबार सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको प्रभावले अहिले देशभर साधारणतया बदली रही कोशी,मधेश र बागमती प्रदेशका धेरै स्थानहरू, गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आइतबार दिउँसो देशभर साधारणतया बदली रहने र कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आइतबार राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आइतबार राति पनि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।