सप्तरी – कोरोनाभाइरस संक्रमित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कमानासिंह लामाको निधन भएको छ। नेकपाका केन्द्रीय सदस्य लामाको गएराति ११ बजे त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा निधन भएको हो। उनलाई २ हप्ता पहिले कोरोना देखिएको थियो।
पूर्वसांसद लामाले केही समय दक्षिण कोरियाका लागि नेपाली राजदूतको रूपमा पनि काम गरेका थिए।उनी अहिले नेकपानिकट आदिवासी जनजाति महासंघ, नेपालका सहइन्चार्ज थिए। ६९ वर्षमा निधन भएका लामाका २ श्रीमती, एक छोरा र चार छोरी छन्। २०३३ सालमा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका उनी २०३५ सालमा पुष्पकमल दाहाल नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य बनेका थिए। २०४८ को आम निर्वाचनमा काभ्रे क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका लामा २०६३ सालमा पुनर्स्थापित संसदको सदस्य समेत बनेका थिए। यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले नेता लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्। लामाले राजनीतिक परिवर्तन तथा सामाजिक सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको प्रधानमन्त्रीले स्मरण गरेका छन्।‘लामासँग संसद्मा भएको सहकार्य यस क्षणमा मैले स्मरण गरिरहेको छु। मुलुकको सामाजिक परिवर्तनको आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहने छ’, प्रधानमन्त्री ओलीले शोक वक्तव्यमा भनेका छन्, ‘निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापनापश्चात २०४८ सालमा प्रतिनिधिसभाको सदस्यका रूपमा उहाँले जनपक्षीय भूमिका खेल्नु भएको थियो।’यस्तै, नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि लामाको निधनले नेकपाले जुझारु एवं बौद्धिक व्यक्तित्व गुमाएको बताएका छन्। अध्यक्ष दाहालले बिहीबार बिहान जारी शोक वक्तव्यमा नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा खटिएको स्मरण गरेका छन्।
‘जुझारु बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसुस गरेको छु’, दाहालले भनेका छन्।