सप्तरी – हनुमाननगर सडक खण्ड अन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ सडेपारमा सोमबार चन्दा विवादलाई लिएर सडक अवरुद्ध गरिएको हो ।
विश्वकर्मा पूजाका लागि बाटोमा चन्दा संकलन विवादले तोपा र मंसापुर स्थित कोशी पश्चिमी नहर पुलमा दिउसो ३ बजे देखि ४ बजेसम्म सडक अवरुद्ध गरिएको हो । राजविराज विराटनगर चल्ने माईक्रोबसलाई उक्त पुलमा रोकेर स्थानीय युवाहरुले विश्वकर्मा पूजाको चन्दा मग्दा विवाद हुँदै झडप भएको थियो ।
झडपका क्रममा स्थानीय युवाहरुले माईक्रोचालकलाई कुटपिट गरेपछि माईक्रोचालकहरुले नहरको पुलमा गाडी तेर्साएर सडक जाम गरेको प्रहरीले जनाएका छन्।जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजबाट खटिएका प्रहरी टोलीले १ घण्टापछि सडक पूर्ववत् रुपमा संचालनमा ल्याएको स्थानीयले बताएका छन् ।
सडक अवरुद्ध भइ आवागमन रोकिंदा सयौं यात्रुहरुले सास्ती खेप्न बाध्य भएका थिए । कुटपिटमा संलग्नहरुको खोजी भइरहेको तथा घटना बारे थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।