सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। यसअघि २१ मंसिरको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वाराही बसे पनि आइतबारको स्थायी कमिटी बैठक बालुवाटारमै बस्ने पार्टी कार्यालय सचिव इश्वरी रिजालले बताए।
आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीसमेत सहभागी हुन सक्ने जनाइएको छ। यसअघिको स्थायी कमिटी बैठकमा ओलीले पार्टी कार्यालय सुरक्षित नभएको भन्दै पत्रद्वारा सम्बोधन गरेका थिए। तर आजको बैठकमा ओलीसमेत सहभागी भई पार्टी विवादका विषयमा छलफल हुने बताइएको छ। यसअघिको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मात्रै सम्बोधन गरेका थिए। आजको बैठकमा ओलीले सम्बोधन गरेपछि अरु नेताले बोल्ने क्रम सुरु हुन सक्ने एक स्थायी कमिटी सदस्यले बताए। ओलीले प्रचण्डले यसअघि सचिवालयमा पेश गरेको प्रतिवेदन आरोपपत्र भएको भन्दै फिर्ता हुनुपर्ने बताउँदै आएका छन्। तर, प्रचण्डले यसअघि दुवै अध्यक्षले पेश गरेको प्रतिवेदनका विषयमा पार्टी बैठकमा छलफलगरी त्यहाँबाट निष्कर्षमा पुग्नुपर्ने बताउँदै आएका छन्।
पार्टी विवादका विषयमा दुई अध्यक्ष मिल्नुपर्ने भन्दै शनिबार स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्डसँग भेटेर छलफल गरेका थिए। पार्टीलाई एक ढिक्का बनाउन दुई अध्यक्ष मिलेर निकास दिनुपर्ने तर्क पोखरेलले गरेको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ। पार्टी विवादका विषयमा गत भदौ २६ गतेको निर्णयको वरिपरीबाट निकास निकाल्नुपर्ने ओलीको तर्क छ। तर, प्रचण्ड–नेपाल पक्षले भदौ २६ गतेको भन्दा परिस्थिति धेरै अघि बढिसकेकाले नयाँ तरिकाले सहमति खोज्नुपर्ने बताउँदै आएका छन्।