सप्तरी – अत्यधिक जाडोले सिरहासहित तराईको जनजीवन प्रभावित भएको छ । सिरहाको सदरमुकाम सिरहासहित तराईका जिल्लामा विगत तीन दिनदेखि एकाएक बढेको जाडोले जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेको छ । जाडोका कारण सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लाको जनजीवन अस्तब्यस्त बनेको छ ।
जाडोले खासगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोबाट बच्न तराइवासीहरु गरम कपडा र आगो ताप्ने व्यवस्था गर्न थालेका छन् । अत्यधिक जाडोका कारण बजारहरुमा न्यानो कपडाको बिक्री बढेको गोलबजार व्यापार सघका अध्यक्ष भारत अग्रवालले बताए ।जिल्ला अस्पताल सिरहामा चिसोका कारण बिरामीको संख्या बढ्न थालेको जिल्ला अस्पताल सिरहाले जनाएको छ । जिल्ला अस्पतालमा दैनिक ९० देखि ९५ जना बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल सिराहाका मेसु डा नागेन्द्रप्रसाद यादवले जनाए ।अस्पतालमा दम, निमोनिया, कोल्ड डायरीया, झाडापखालाका बिरामीको संख्या बढिरहेको जिल्ला अस्पताल सिरहाले जनाएको छ । विगतका वर्षहरुमा जिल्लाका विभिन्न स्थानमा स्थानीय सरकार तथा प्रशासन, विभिन्न संघसंस्थाले दाउरा उपलव्ध गराए पनि कोरोना महामारीका कारण यस वर्ष कसैले त्यस्तो सहयोग गरेका छैनन् ।जिल्ला विपद् व्यवस्थापन सिरहाले आपतकालीन अवस्थाका लागि केही कम्मल र न्यनो कपडाको व्यवस्था मिलाए पनि १७ स्थानीय तह रहेको सिरहामा हालसम्म कुनै स्थानीय तहले जाडोबाट जोगाउन पूर्वतयारी नगरेको स्थानीय समाजसेवी रामचन्द्र महतोले बताए ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलका अनुसार जिल्लाका सबै स्थानीय तहलाई पूर्वतयारीका लागि परिपत्र गरिसके पनि हालसम्म कुनै स्थानीय तहले कुनै जनाकारी नदिएको बताए । सिरहामा जाडोबाट प्रत्येक वर्ष १० देखि १२ जनाको मृत्यु हुने गरेको छ ।