सप्तरी – काठमाडौंको न्यूनतम तापक्रम मंगलबार यो वर्षकै कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको हो ।
सोमबार ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम मंगलबार एक डिग्री सेल्सियसले घटेको हो ।
यसअघि शनिबार ९ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको आइतबारको न्यूनतम तापक्रम झण्डै ५ डिग्री घटेर ४ दशमलव ५ डिग्रीमा झरेको थियो ।
राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको मौसमविद् गंगा नगरकोटीले बताइन् । उनका अनुसार राति आकाश खुले जमिन चिसो भएर बिहानको तापक्रम घट्ने गर्छ । तर राती बादल लागे जमिन चिसिन पाउँदैन र बिहानको तापक्रम बढ्छ ।
बिहीबारसम्म नै राति पहाडी क्षेत्रबाहेकका ठाउँको मौसम आशिंक बदली हुने देखिएकाले न्यूनतम तापक्रम अझै घट्ने पूर्वानुमान गरिएको छ ।
मंगलबार दिउँसो प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशमा आँशिक बदली भएपछि अरु ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै राति प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आँशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा रहनेछ ।
मंगलबार काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसम्म पुग्ने महाशाखाको अनुमान छ ।
जुम्लाको तापक्रम भने माइनस ६ मा झरेको छ । चिसो बढ्दै जाँदा देशभरको जनजीवन प्रभावित भएको छ । तराईमा भने हुस्सु लागेपछि चिसो अत्याधिक बढेको छ ।