सप्तरी – मोरङको सुनवर्षी नगरपालिका–२ अमरदहमा मंगलबार बिहान भएको आगलागीमा परेर एउटा किराना पसल र पसलको सामान स्टोर गरेर राखिएको गोदाम ध्वस्त भएको छ। आगोले पारस साहले सञ्चालन गरेको पसल र गोदाममा पूर्ण रुपमा क्षति पुर्याएको हो।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसहितको किराना पसल र सामान स्टोर गरेर राखिएको गोदाममा बिहान २ बजेतिर आगो लाग्न सुरु भएको थियो। आगो नियन्त्रणका लागि तत्कालै इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक अनमोल खड्काको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। ठूलो संख्यामा सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो। नेपाल तथा सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विभिन्न ठाउँबाट आइपुगेका पाँचवटा दमकलाई आगो नियन्त्रणमा लिन छ घण्टाभन्दा बढी समय लागेको थियो। सबैको प्रयासपछि बिहान ८ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको हो। आगो नियन्त्रणमा लिननै समय लागेपछि पसल र गोदाममा रहेका केही पनि सामान रहेनन्। आगलागीको कारण खुल्न नसकेको र विद्युत सर्ट भएर घटना भएको हुनसक्ने अनुमान गरिएको एसपी खड्काले बताए। उनका अनुसार आगोले पसल र गोदाम सञ्चालन गरेको घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने सबै सामान कामै नलाग्ने गरी जलेर नष्ट भएका छन्। एक्कासि आगो सुरु भएपछि आगो नियन्त्रणको प्रयास गर्दै पसल सञ्चालक र स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए। तर पसल घर र गोदाम तथा केही सामान निकाल्न नपाउँदा सबै जलेर ध्वस्त भएको पसल सञ्चालक साहले बताए। आगलागीमा एक करोड बढीको क्षति भएको उनले बताए। तर प्रहरीले क्षतिको यकिन विवरण प्राप्त नभएको र संकलन थालिएको जनाएको छ। एसपी खड्काले आगोले एकै ठाउँमा ठूलो क्षति गरेको बताए।
स्थानीय पत्रकार वीरेन्द्र साहका अनुसार उक्त पसल र गोदाम अमरदहकै ठूलो मानिन्थ्यो। ‘गाउँकै चलेको र ठूलो पसलमा एक्कासि लागेको आगोले धेरै क्षति गरेको छ’, उनले भने, ‘समयमै आगो नियन्त्रणमा आउन नसक्दा सबै कुरा जलेर नष्ट भएको हो।’ आगो सुरु भएपछि पसलमा रहेका चामल, तेल, चाउचाउ लगायतका सामान जल्न थालेको र झन् त्यहाँबाट दन्किन थालेपछि नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ।