सप्तरी – सुर्खेतको छिन्चुमा २ सय मेट्रिकटन क्षमताको कोल्ड स्टोर सञ्चालनमा आएको छ । भेरीगंगा नगरपालिका–१२ छिन्चुमा कर्णालीको पहिलो कोल्ड स्टोर सञ्चालन ल्याइएको हो । चार कोठा रहेको कोल्ड स्टोरमा प्रति कोठा ५०/५० टन तरकारी तथा बीउ राख्न सकिने क्षमताको छ । कोल्ड स्टोर नारी जागरण बहुद्देश्यीय कृषक समूहले निर्माण गरेर सञ्चालनमा ल्याएको हो ।
२ करोड २० लाखको लगानीमा ६ रोपनी जग्गामा निर्माण गरिएको कोल्ड स्टोरमा कृषि विकास निर्देशनालय कर्णाली प्रदेशको ७० लाख, भेरीगंगा नगरपालिकाको ६५ लाख, साना तथा मझौला आयस्तर वृद्धि परियोजनाको ३९ लाख, नारी जागरणको २९ लाख, कृषि मन्त्रालयको १५ लाख, गुर्भाकोट नगरपालिकाको २ लाख लगानी गरिएको छ । कर्णालीमै कोल्ड स्टोर निर्माण गरिएपछि आलु, तरकारी, फलफूल, बिउ कोहलपुर पुर्याउनु पर्ने बाध्यता अन्त्य भएको छ ।
कोल्ड स्टोरको सोमबार कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले उद्घाटन गरेकी छन् । उद्घाटन गर्दै मन्त्री केसीले अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी मुलुक समृद्धिको बलियो आधार भएको बताइन् । साथै उनले आर्थिक समृद्धिको नेतृत्व अब सहकारीले लिनुपर्नेमा जोड दिइन् ।