सप्तरी – काठमाडौं युरो स्कुलको प्रिस्कुल युरो किड्स गोंगबुले मिस नेपाल नम्रता श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ। नम्रता युरो किड्सकी शिक्षिका हुन्।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र टोखा नगरपालिका—८ का वडाध्यक्ष केशवबहादुर खत्रीले नम्रतालाई प्रशंसापत्र र नगद २५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरे।नम्रताले हासिल गरेको उपलब्धिका लागि उनलाई सम्मान गरिएको युरो किड्सका निर्देशक प्रमोद पाण्डेले जनाएका छन्।
‘नम्रताले हासिल गरेको उपलब्धिले सिंगो विद्यालय परिवारलाई हर्षितका साथै गौरावान्वित तुल्याएको छ। पुरस्कार रकम सानै भए पनि सफलताको कदरस्वरूप सम्मान गरेका हौं’, निर्देशक पाण्डेले भने। नम्रताले युरो किड्समा दुई वर्ष सेवा गरेकी थिइन्। नम्रताले सम्मानका लागि विद्यालय परिवारलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विद्यालयसँग कुनै न कुनै भूमिकामा जोडिइरहने प्रतिबद्धता जनाइन्।