सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित नेपाली भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरूले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको प्रष्टिकरण दिएका छन् ।
बालुवाटारमा जारी आफ्नो नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड-माधव नेपाल पक्षले आफूलाई अध्यक्षबाट निकाल्नु भनेको चेस खेल्ने खेलाडीले हात्ती खाएँ भनेजस्तै हुने बताए ।’हाम्रो भूमि फिर्ता माग्दा सम्बन्ध बिगारेको आरोप लगाइयो । संविधान बनाएबापत नाकाबन्दी लाग्यो’, उनले भने, ‘नाकाबन्दीको सामना गरेबापत मलाई घेराबन्दीमा पारिएको थियो।’ उनले प्रचण्ड पक्षका नेताहरुलाई छचन्नाएर हिँड्नुको साटो आफूसँग मिल्न आए ठाउँ खाली राखिएको बताए। ओलीले अहिलेसम्म पार्टीबाट कसैलाई नहटाइएको स्पष्टीकरण दिए। ओलीले आफूलाई पार्टीबाट हटाउने कुरा चेस खेल्दा हात्ती खाएँ भने जस्तै भएको दाबी गरे। ‘उत्ताउलिएर, भड्किएर नहिँड्नुस्, आउनुस् कारबाही गरेका छैनौँ’, ओलीले प्रचण्ड-माधव समूहलाई भने।
‘उनीहरुलाई दिनहुँ बैठक बस्नुपर्ने ! दिनहुँ बैठक बसेर के गर्ने ? लडाइँमा कमान्डर प्रष्ट हुनुपर्छ। हिँड्न खोज्यो कि अल्झाउने र बल्झाउने केही गर्न नदिने भएपछि जनतामा जान खोजेको हुँ’, उनले भने ।