सप्तरी – प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट उपर आज संवैधानिक इजलाशमा सुनुवाइ हुँदै छ । गत बुधवार प्रधान न्यायाधिश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले संसद विघटनको कदममा ‘संवैधानिक प्रश्न’ उठाउँदै दर्ता गरिएका दर्जन रिट संवैधानिक इजलाशमा पठाउने निर्णय गरेका थिए ।
संवैधानिक ईजलाशमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशको संवैधानिक इजलाश हुन्छ । रोष्टरमा नाम रहेका वरिष्ठ न्यायाधिशहरु दीपक कुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा र मीरा खड्कामध्येबाट प्रधानन्यायाधीशले आफूसमेत पाँच जनाको इजलाश गठन गर्न सक्नेछन् । न्यायाधीश केदार चालिसेको अवकासपछि रोष्टरमा एकजना न्यायाधीशको सूचि रिक्त छ ।
संवैधानिक इजलाशका तिनजना न्यायाधीशको बहुमतले मुद्दा फैसला गर्ने कानुनी प्रावधान छ । सो फैसला उपर पुनरावलोकन हुँदैन । संवैधानिक ईजलाशले संसद विघटनबारे अन्तरिम आदेश दिनसक्ने कानुन विद्हरु बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेपछि सो कदमको चौतर्फी विरोध भएको छ । संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै सो कदम खारेजीको माग गरेर सर्वोच्चमा रिट दायर भएका छन् ।