सप्तरी – सडक आयोजनाबाट भएको गलत इस्टिमेट र डिजाइनअनुसार काम हुँदा दुर्घटना निम्तिने र सडकको सुन्दरतासमेत गुम्ने भन्दै बीपी राजमार्गको थप कालोपत्रे गर्ने काम स्थानीयले रोकिदिएका छन् । सडकको चौडाइअनुसारको कालोपत्रेको काम नगरी चार मिटरसम्म खाली भाग रहने भएकाले दुर्घटना बढ्ने र सडकको सुन्दरतासमेत मासिने भएकाले निर्माण कार्य रोकेको स्थानीयले बताएका छन् ।
बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ खनियाँखर्कमुनि थपिएको कालोपत्र ।गोलन्जोर गाउँपालिका ५ को खनियाँखर्कमुनि इस्टिमेटअनुसार ५ मिटर मात्र कालोपत्रे गर्दा सडकको आधा भाग खाली रहेकाले रोक्न बाध्य भएको स्थानीयले बताएका छन् ।आयोजनाको गलत इस्टिमेटका कारण सडक होचोअग्लो हुन गई दुर्घटना खतरा बढेकाले काम रोक्नु परेको स्थानीय हरि गजुरेलले बताए । कालोपत्रेमाथि थप गरी कालोपत्रे गर्दा सडकको चौडाइअनुसारको काम भएन्,’ उनले भने, ‘सडक होचो अग्लो भएको छ, कुरुप देखिएको छ ।’ ओभरटेक गर्दा होचोअग्लोमा परी दुर्घटनाको जोखिम उत्तिकै बढेको उनको भनाइ छ ।इस्टिमेट सच्याएर पूरै सडकको चौडाइमा थप कालापत्रे गर्ने भएपछि काम सुरु गर्न दिने स्थानीयको भनाइ छ । ‘बीपी राजमार्गमा यातायातको चाप थामिनसक्नु छ, सडकको चौडाइ घुम्तीको कारणले गर्दा सानो छ,’ अर्का स्थानीय रामहरि थापाले भने, ‘चारपाँच मिटरदेखि ९ मिटरसम्म भएको चौडाइमा आधा सडक अग्लो र होचो हुँदा के हालत होला?’ यस्तो काम गराउन खोज्ने प्राविधिकलाई कारबाही गर्नुपर्ने उनले माग राखे ।
एउटै प्याकेजमा दुईथरी कामको इस्टिमेट भएको छ । यसअघि कालोपत्रे भइसकेको सडकमा चौडाइ पूरै लिइएको छ । सिन्धुलीमाढीदेखि खुर्कोटसम्मको ३९ किमी सडकमध्ये प्याकेज बनाएर ३६ किलोमिटर ओभरलेको काममध्ये साढे ११ किलोमिटरको काम सम्पन्न भइसकेको छ । पिपलभञ्ज्याङदेखि खनियाँखर्कसम्म ओभरेलेको काम पूरै चौडाइ लिएर काम भएकोमा बाँकी काममा भने इस्टिमेटअनुसार भन्दै पाँच मिटर मात्र गर्न लागिएको हो । अहिले भइरहेको सडकमा दुई इन्च कालोपत्रे थप गरी ओभरलेको काम हुनेछ । सडक आयोजनाका प्राविधिक रमेश आचार्य इस्टिमेटमा पाँच मिटरको मात्र रहेको र पूरै चौडाइ लिनका लागि औसतमा ६ मिटर चौडाइ बनाउनु पर्ने बताउँछन् । सडकको पूरै चौडाइमा काम गर्दा लम्बाइ घट्ने भएकाले कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको प्राविधिक आचार्यले बताए ।चार चरण बनाएर ठेक्का लगाई काम थालिएकोमा एक चरण सकिएको र तीन वटाको साढे २४ किलोमिटर ओभरलेको काम गर्न बाँकी छ । वल्र्डवाइड, जलुकेनी, कल्पवृक्ष जेभीले ओभरलेको ठेक्का पाएको छन् । प्राविधिक आचार्यका अनुसार प्रतिकिलोमिटर एक करोड रुपैयाँको हाराहारीमा निर्माण कम्पनीले ठेक्का सकारेका छन् । निर्माण कम्पनीको मेसिनमा खरावी आएको र स्थानीयले गरेको अवरोधका विषयमा आयोजना केन्द्रमा जानकारी गराइसकिएको उनको भनाइ छ ।
सडकको खाल्डाखुल्डीमा पुर्ने र कालोपत्रेको काम निर्माण कम्पनीले गर्नेछ । सडक आयोजनाका इन्जिनियर मोहन कायस्थले अवरोध खुलाएर काम सम्पन्न गर्नका लागि स्थलगत अनुगमन गरी आयोजना केन्द्रमा जानकारी गराएको बताए । चौडा सडक पहिलाको अनुसार नै थप कालोपत्रे नभए दुर्घटनाको जाखिम रहने उनले स्वीकार गरे । ५ देखि ९ मिटरसम्मको कालोपत्रे सडक पहिलाको भएकाले सोहीअनुसारको इस्टिमेट हुनुपर्ने उनको राय छ । उनी भन्छन्, ‘पहिला नै ५ मिटरको कालोपत्रे गर्ने भनेर इस्टिमेट गरी टेन्डर निकाल्नु नै गलत थियो ।