सप्तरी – विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आगामी रणनीति तय गर्न आज पनि आन्तरिक बैठक जारी रहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’र माधवकुमार नेपाल समूहको शीर्ष नेतादेखि जनवर्गीय संगठनका बैठक र प्रशिक्षण, छलफल जारी रहेको छ।
ओली समूहले सोमबारै पार्टीको विधान संशोधन गर्दै केन्द्र्रीय समिति ११९९ सदस्यीय पुर्याएको थियो। उसले विधानसमेत संशोधन गरी पार्टीका आधिकारिक दस्ताबेज र पत्रहरूमा प्रथम अध्यक्षको मात्र हस्ताक्षर चल्ने व्यवस्था गरेको छ। संशोधित विधानलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर यो पक्षले निर्वाचन आयोगमा विधान संशोधनसहित सबै कागजपत्र बुझाएको छ।
ओली समूहले संगठनको काम र निर्वाचन तयारीलगायत कामको संयोजन गर्ने गरी सातै प्रदेश र जनसंगठनहरूको संयोजन गर्ने गरी पार्टी नेताहरूलाई जिम्मेवारीसमेत तोकेको छ। प्रदेश १ मा सुवास नेम्बाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ।पोखरेल सचिवालय सदस्य र अन्य नेता स्थायी समितिका सदस्य हुन्। जनवर्गीय संगठनहरूको कामको संयोजन गर्न स्थायी समिति सदस्य टोपबहादुर रायमाझीलाई जिम्मा दिइएको छ। उपत्यकाको कामको जिम्मा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ।
संविधानले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहीत रहेको कुरा स्पष्ट गरेकाले सदनमा बहुमतप्राप्त दलबाट सर्वसम्मत रूपमा निर्वाचित दलका नेता र त्यसै हैसियतमा निर्वाचित प्रधानमन्त्रीले ताजा जनादेशको माग गर्नु र सबै विषयको छिनोफानो जनताको अभिमतबाट खोजिनु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम भएको पनि ओली पक्षको केन्द्रीय समितिले निष्कर्ष निकालेको छ। प्रचण्ड-नेपाल समूहले आज ७७ जिल्ला स्तरीय कार्यकर्ता भेला गर्दै छ। उक्त भेलामा एकीकृत पार्टीलाई कसरी अगाडि बढाउने र एकताविरुद्धका भ्रमलाई कसरी चिर्ने र प्रतिगामी कदमविरुद्ध कसरी संघर्ष अगाडि बढाउन अभिमुखीकरण कार्यक्रम संचालन गर्न लागेको हो। यो समूहको केन्द्रीय समिति बैठकले पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गरेको छ। बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा केन्द्रीय संघर्ष समिति गठन गरेको छ। २ हजार ५ सय १ जना रहने गरी प्रवक्ता श्रेष्ठको नेतृत्वमा केन्द्रीय संघर्ष समिति र यसको एउटा सचिवालय बिहीबारको बैठकले गठन गरेको हो।
प्रचण्ड-नेपाल समूहले एकीकृत पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने, षड्यन्त्र र भ्रम चिर्ने तथा प्रतिगमन र षड्यन्त्रविरुद्ध आन्दोलन कसरी लैजाने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम चलाउने निर्णय गरेको छ। संघर्ष र संगठनको काम प्रभावकारी बनाउन बैठकले सातै प्रदेशभित्रको स्थायी समिति सदस्य, प्रदेश पदाधिकारीलाई आ–आफ्नो कार्यक्षेत्रमा तत्काल गई परिचालन हुन पनि निर्देशन गरेको छ। केन्द्र, प्रदेश र जिल्ला संगठनको कार्ययोजनाका सवालमा आवश्यक निर्णय लिने अधिकार केन्द्रीय समिति बैठकले स्थायी समितिलाई दिएको छ।