सप्तरी -बलिउड अभिनेत्री आलिया भट् अभिनित फिल्म ‘गंगूबाई काठियावाडी’ कानूनी विवादमा तानिएको छ। फिल्म निर्देशक सञ्जय लीला भंशाली, अभिनेत्री आलिया भट् र लेखक हुसेन जैदीविरुद्ध मुद्दा दर्ता हुने भएको हो।कमाठीपुरा रेड लाइट एरियाको व्यवस्थापनदेखि माफिया डनको समेत परिचय बनाएकी गंगूबाई काठियावालीको रियल लाइफ ‘हिरोइजम’लाई रिलमा उतार्दै छन् निर्देशक भंशाली। उनको गुजरातदेखि मुम्बईसम्मको यात्रा, असफल प्रेम कथा प्रस्तुत हुँदैछ।
जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित फिल्ममा आलिया ‘माफिया क्विन’का रुपमा प्रस्तुत हुँदैछिन्।तर, हाल गंगाबाईका धर्मपुत्र बाबुजी रावजी शाहले फिल्म निर्देशक, लेखक र अभिनेत्रीविरुद्ध मानहानीको आरोपसहित निवेदन दिएका छन्। बलिउड हंगामाका अनुसार शाहले जैदीको किताबका अंशले गंगूबाईको गोपनीयता र स्वतन्त्रता भङ्ग गरेको साथै आतमसम्मानमा चोट पुर्याएको दावी गरेका छन्।
उनले फिल्म निर्माणको प्रक्रिया तत्काल रोक्न र उपन्यास एवं फिल्म दुवैबाट गंगूबाईको गोपनीयता भङ्ग हुने अंश हटाउन माग गरेका छन्। उनको मागको सुनुवाई आउँदो जनवरी ७ सम्ममा हुने बलिउड हंगामाले जनाएको छ। शाहले फिल्मको प्रचार प्रसारका कारण आफ्नो परिवारविरुद्ध पनि मानिस खनिएको जनाएका छन्।