सप्तरी – उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीका प्रथम अध्यक्षसँग पार्टीको नाम र चुनाव चिन्ह रहने तर्क गरेका छन् । नेता पोखरेलले नेकपाको प्रथम अध्यक्ष केपी ओली नै रहेको र उनी जहाँ हुन्छन् नेकपा र सूर्य चिन्ह सोही समूहसँग हुने तर्क गरेका हुन् ।
मधेसबाट काठमाडौं फर्कनेक्रममा बुधबार सिन्धुलीको रातामाटामा अगुवा कार्यकर्ता भेलामा उनले भने, ‘वैशाखमा चुनाव हुनेमा कुनै शंका नगर्नुहोस् । ताजा जनादेश लिन निर्वाचन मिति भएसँगै प्रधानमन्त्रीले सुरक्षा निकाय र निर्वाचन आयोगसँग छलफल गरिसक्नुभएको छ ।’उनले नेकपाभित्र विद्यमान विवाद र बहसको निरुपण पनि निर्वाचनले गर्ने तर्क गरे । उनले भने, ‘निर्वाचन हुन्छ, सबै लागौं, मतभेदका जे–जे कुरा छन्, त्यो सबै निर्वाचनको परिणामले मिलाउँछ निर्वाचनबाट भाग्ने कुरै छैन ।’
उनले सर्वोच्चले पनि आफ्नो समूहको प्रतिकूल हुनेगरी आदेश नगर्ने संकेत गरे । ‘ताजा जनादेशका लागि प्रधानमन्त्रीले सर्वोच्चलाई जवाफ दिइसक्नुभएको छ, अदालत दायाँबायाँ’ गर्ने कुरै आउँदैन ।’उनले नेकपा विभाजनको सबै दोष अर्का अध्यक्ष प्रचण्डलाई लगाए । उनले प्रचण्डको आरोपपत्रकै कारण पार्टी विभाजनसम्म पुगेको तर्क गरे ।