सप्तरी – बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि हालसम्म कै धेरै संक्रमितको मृत्यु भएको छ। बीबीसीका अनुसार गत वर्षको अप्रिलपछि बुधवार १ हजार ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कोभिड १९ को ‘न्यू भेरियन्ट’ देखिएपछि ‘मास टेस्टिङ’ सुरु गरिएको थियो। त्यसपछि एकैदिन ६२ हजार ३२२ जनामा संक्रमण पुष्टि भएको थियो। हाल बेलायतमा संक्रमण रोक्न फेरि लकडाउन लागू गरिएको छ।
गत वर्ष अप्रिल १२ सम्ममा देखिएको संक्रमणको गति भन्दा अहिलेको अवस्था चिन्ताजनक रहेको बताइएको छ। गत वर्षभन्दा हाल ३९ प्रतिशत बढी संक्रमितहरु पहिचान भएका छन्। गएको सात दिनमा मृत्यु हुनेको संख्या पनि ३७ प्रतिशतले बढेको छ।
संक्रमण रोष विशेषज्ञ एन्ड्रिउ हेवार्डले संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्।
बेलायतका स्वास्थ्य मन्त्री म्याट हानककले संक्रमणको गति रोक्न अहिले नै प्रयास नगरे पछि अस्पतालहरुलाई भाइरससँग जुध्न गाह्रो हुने प्रतिक्रिया दिएका छन्।